नेपाली सेनासँग सहकार्य अझ मजबुत पार्न चाहन्छौं : अमेरिकी जनरल फ्लिन

नेपाली सेनासँग सहकार्य अझ मजबुत पार्न चाहन्छौं : अमेरिकी जनरल फ्लिनकाठमाण्डौं,जेठ,२८-नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चाल्र्स ए फ्लिन शुक्रबार दिनभर उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रममा ब्यस्त रहे। 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा जनरल फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब २० मिनेट कुराकानी गरे। त्यसक्रममा उनले अमेरिकाले आगामी दिनमा नेपाली सेनालाई सहयोग थप वृद्धि गर्न चाहेको बताएको उक्त भेटमा सहभागी अधिकारीहरुले बताए। 

अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा सहभागी हुन अमेरिकी सेनाले ताकेता गरिरहेकै बेला अमेरिकाका उच्च सैनिक अधिकारीले सेनासंग संबन्ध अभिबृद्दि गर्न चाहेको बताएका हुन्। एसपीपी अन्तर्गत एक समझदारीपत्रमा हस्ताक्षरका लागि अमेरिकाले सात बर्षयता राजनीतिक र सैन्य तहमा दबाब दिँदै आएको छ।

रणनीतिक महत्वको उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने वा नगर्नेबारे नेपालको राजनीतिक र सैनिक नेतृत्व अझै अनिर्णित छन्। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेतासंग अमेरिकी सेनाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप कार्यक्रमबारे छलफल गरिसकेका छन्। 

विपद् व्यवस्थापन र मानवीय सहायताका क्षेत्रमा नेपाली सेनासँग सहकार्य मजबुत बन्दै गएको जनरलले बताएका थिए। नेपाल आउँदा प्रधानमन्त्री देउवालाई पनि भेट्न पाउँदा आफू खुशी भएको उहाँले त्यसक्रममा बताउनुभयो ।

देउवाले अमेरिकी सेनाले नेपालको भूकम्प र कोरोना महामारीका बेला दिएको सहयोगको प्रधानमन्त्रीले सराहना गरेको उनका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिनुभयो। ‘प्रधानमन्त्रीले अमेरिकाले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयो’।

प्रधानमन्त्री देउवाले २०७२ मा नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सहायता मिसन अन्तर्गत आएका अमेरिकी नौसेनाका ६ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकोप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना दिए।

२०७२ को भूकम्पपछि राहत सहयोग लिएर उडेको अमेरिकी नौसेनाको हेलिकोप्टर दोलखामा दुर्घटनग्रस्त भएको थियो। हेलिकोप्टरका पाइलट क्याप्टेनद्वय डस्टिन आर लुकासिजविज र क्रिस्टोफर एल नोरग्रेन, सर्जेन्ट वार्ड एम जोनसन, सजेन्ट इरिक, कपोरेल सारा ए मेडिना ल्यान्सका कर्पोरल ज्याबोब ए हगको दुर्घटनामा मृत्यु भएको थियो।

त्यसबेला नेपाली सेनाले ती ६ अमेरिकी नौसेनालाई साहसी सम्मान दिएको थियो। तिनै दिवंगत अमेरिकी सैनिकको प्रधानमन्त्री देउवाले स्मरण गरेका हुन्। 

भेटका अवसरमा अमेरिकी जनरलले नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याउँदै आएको सहयोगको प्रशंशा गरे। 
अमेरिकी सेनाका जनरल फ्लिनले प्रधानमन्त्री देउवालाई भेटेपछि सिधै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे। भेटमा उनले नेपाल सेनालाई अझ बढी सहयोग गर्न इच्छुक रहेको बताएका थिए। 

भेटमा सहभागी राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार नेपाली सेनाले मानवीय सहयोग, विपद् व्यवस्थापन र राष्ट्रसंघीय शान्ति मिसनमा जारी सहयोगको प्रशंशा गरेका थिए। ‘नेपाली सेनालाई अझ बढी सहयोग गर्न हामी इच्छुक छौं। यहाँको सेनाले मानवीय सहयोग, विपद् व्यवस्थापन र पिस किपिङ अपरेशनमा गरिआएको काम उत्कृष्ठ छ। अमेरिकी सेना नेपाली सेनाको क्षमता र दक्षता अभिवृद्धि गर्न नेपाली सेनासँग हातेमालो गर्न चाहन्छ’ जनरल फ्लिनले भेटमा भने। 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले भ्रमण सफलताको कामना गरिन्। नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्षगाँठ चलिरहँदा दुई देशबीचको सम्बन्ध विस्तार हुँदै गएकोमा भण्डारीले खुशी ब्यक्त गरेको ढकालले जानकारी दिए। 
राष्ट्रपतिसँगको भेटपछि जनरल फ्लिन सैन्य मुख्यालय जंगीअड्डा पुगे। त्यस क्रममा नेपाली सेनाले उनको सम्मानमा गार्ड अफ अनर दिएको थियो।

सैनिक मुख्यालयमा नेपाली सेनाले आफ्ना अपरेशनल गतिविधिबारे प्रस्तुतीकरण समेत दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। त्यस अवसरमा जनरल फ्लिनले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट गरेका थिए। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। 

‘मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’ सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा भनेको छ। 

प्रधान सेनापति शर्माले फ्लिनको सम्मानमा सैनिक मुख्यालयमा शुक्रबार रात्रिभोज दिए। त्यस अवसरमा संक्षिप्त मन्तब्य दिँदै प्रधानसेनापति शर्माले अमेरिकी सेनाले नेपाल सेनाबाट प्राप्त हुँदै आएको विभिन्न सहयोगकाे प्रशंशा गरे।

जनरल फ्लिनले नेपाली सेनासँग सहकार्य अझ बढी मजबुत पार्न चाहेको बताएका थिए। शान्ति स्थापनामा नेपाली सेनाको भूमिकाको उनले उच्च प्रशंशा पनि गरे।

रात्रीभोजमा थोरै संख्यामा सरकारी अधिकारी र नेपाली सेनाका उच्च अधिकारी मात्रै डाकिएको थियो। 

अमेरिकी सेनाको भ्रमणलाई नेपाली सेनाले ‘उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता’ भनेको छ। 
जनरल फ्लिन नेतृत्वको अमेरिकी सेनाको टोली आज शनिबार बिहान हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी भएकाे छ । आजै अमेरिकी दूतावासले फोहरा दरबारमा आयोजना गर्ने प्रवचन कार्यक्रममा फ्लिनले नेपाली सेनासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय परिस्थितिबारे बोल्नेछन्। 

अमेरिकी टोलीले भोलि २९ गते पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नेछ। अमेरिकी टोली भोलि नै स्वदेश फर्कने कार्यसूची छ ।