अभागी मतदाताका भाग्यमानी नेता !

काठमाण्डौं,जेठ,३०-चुनाव आउनु एक महिना अघि नै नेताहरुलाई भोट माग्न र भोटको आँकलन गर्न भ्याइ नभ्याइ हुन्छ । देशका कुना काप्चामा काम विशेषले बसेकाहरुलाई गाउँ घर सम्म बोलाउँछन ति नै नेता ज्यू । भारतका विभिन्न शहरमा रोजगारीमा गएका थुपै्र आफ्ना मतदाता गाउँलेहरुलाई यसपालि मलाई भोट हालेर जाऊ भनेर कर गरिन्छ ।

विचरा सोझा परदेशी दाजुभाई र दिदी बिहिनीहरु तिनै नेताको बोली काट्न नसकेर गाउँ आएर भोट हाल्छन । त्यसकै पछिल्लो दिन परदेश हिड्छन । त्यति बेला ती नेताले कम्ता आशा र लालच देखाउँछन र ? अब सायद मेरा बम्बैवाला दाजुले परदेशको सपना देख्नै छोड्छन । यति सम्म हुन्छ की चुनाव जित्नकै लागि भोट किन्ने सम्मका होडबाजी चल्छन ।

चुनाव प्रचार प्रसार अनि मतदातालाई रिझाउनकै लागि लाखौ करोडौ रकम खर्चिन तयार हुन्छन । खुट्टा मुन्टा ढोग्दै कहिल्यै नदेखेका, कहिल्यै नपुगेका गाउँ बस्ती र घर आँगन सम्म पुग्छन । हजुर नमस्कार, लाल सलाम, जय नेपाल अरु यस्तै यस्तै थुपै्र अभिवादनका छर्रा हान्दै म फलानो तपाईको छोरो, नाति, छोरी जे भन्नु हुन्छ यसपालि तपाईको भोट खेर नजाओस है हजुर भन्दै पुकार्छन ।

नभन्दै तिनै मतदाताको आर्शिवादले चुनाव जित्छन । अब चुनाव पोल्टामा परीहाल्यो, वडा सदस्य, वडा अध्यक्ष, मेयर, उपमेयर, प्रदेश सांसद, संघीय सांसद त बनियो नि यति भइसके पछि अब मतदाता को हुन भनेर चिन्ने हिम्मत विरलै हुन्छ । नेताहरु ढुक्क छन आखिर जनता न हुन दुई चार आश्वासन बाडे पुगिहाल्छ । अर्को चुनाव पनि ढुक्कले जितिन्छ ।

यसरी पाइला पाइलामा सर्वसाधारणको अमूल्य मतले ठूला बडा बनेकाहरुको असली चरित्र कोरोना भाइरसले छर्लगं पारि दिएको छ ।तर यतिबेला अव्यवस्थित क्वारेन्टाइनमा बसेका नेपालीहरुको लागि एक रुपैया खर्चिन पनि खुट्टा कमाउदै छन । सहयोग गर्नु त परको कुरा तिनै मतदाताको पिडा बारे थाहा भएर पनि बेखबर झै नाटक गरीरहेका छन ।

वास्तवमा कोरोना भाइरस भन्दा खतनाक भाइरस त मैले भोट हालेर जिताएका तिनै बडेमान नेता भनाउदाहरु पो रहेछन । जसले कोरोना भाइरसको नाममा भ्रष्टाचार गर्ने मौका पाए । तिनै नेताले कोरोना भाइरसको कारण पीडित बनेका बिरानो मुलुकमा उद्धारको चिचाहट गरीरहेका आफ्नै नेपाली दाजुभाई र दिदी बहिनीको दुःख बुझ्ने हिम्मत गरेनन ।

आहाराको खोजीमा उडेको चरी रात परे पछि आफ्नै गुडमा फर्किन्छ झै अनेक दुःख कष्ट झेल्दै आफ्नै जन्मभूमि फर्किएका थुपै्र नेपालीहरु स्वदेश फर्किदा अपराधी झै व्यवहार देखाए । यति सम्म हेपियो की मानौ उनीहरुले गर्नै नहुने काम गरे अनि सजाय दिइयो ।क्वारेन्टाइनको नाममा भैसि गोठमा सुताइरहेका छौ । खानाको नाममा नुन पानी घोलिएको दालमा न्यून गुणस्तरको चामलको भात खुवाइरहेका छौ । परालको त्यान्द्रोमा ओछ्यानमा सुताएका छौ ।

चुनावताका हरेक पाइलामा तपाईका अनुहार छापिएका चुनावी नारा सहितका पर्चा भेटिन्थे । चुनावकै बेला तपाईको दिमागमा गाउँघरका मतदाताहरुको फोटो बारम्बार घुमिरहन्थ्यो । स्वयं तपाई पनि दुई चार जना झोले कार्यकर्ताको अगाडि अगाडि हिड्दै गाउँ गाउँमा गएर एक एक घर चिन्दै भोटको भिख मागिरहनु हुन्थ्यो ।

कोरोना भाइरसले तपाईका तिनै शुभचिन्तक मतदाता आम सर्वसाधारण छटपटाइरहदा नेता ज्यू कुन दुनियामा हुनुहुन्छ । क्वारेन्टाइनमा कष्टपूर्ण दिन विताइरहेका दाजुभाई दिदी बहिनीले तपाईलाई खोजी रहेका छन । कोरोनाको लडाइ लडिरहेका छन ।

उनीहरु भन्दैछन, नेता ज्यू तपाई हामीले लगाएको गुन कहिले तिर्छौ ? हाम्रा पिडा कहिले सुन्छौ ? बाकी हिसाब किताब अब आउने चुनावमा गरौला ? कोरोना भाइरस एक दिन समाप्त भएर जानेछ । त्यसैगरी तपाई नेता ज्यूको स्वार्थको राजनीति पनि समाप्त पार्ने साहस यी नै हाम्रा भोटले गर्नेछ ।

पत्रकार तथा कलाकार गोपाल जंग थापाको लेख