भारी हिमपात पर्ने हुँदा डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्द

डोल्पा,पुस ९- हिमाली जिल्ला डोल्पाका सम्पुर्ण बिद्यालयहरु मंसिर अन्तिम साताबाट बन्द भएका छन् । मंसिर देखि अत्याधिक जाडो बढेर पुष माघमा भारी हिमपात पर्ने हुँदा पठन पाठन संञ्चाल गर्न नसकिने भएकाले सबै बिद्यालयहरु दुइ महिनाका लागि बन्द गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

‘शैक्षिक सत्रको बार्षिक परीक्षाकोे सम्पुर्ण काम सकाएर ४५ दिनको मिनपचास अवधिका लागि १ सय १६ वटै बिद्यालयहरु बन्द भईसकेका छन्, बिद्यालय निरीक्षक प्रकाश बहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आउँदो फागुन १ गते भित्र जिल्लाका सबै बिद्यालयहरु खुल्ने छन् । देशका अन्य जिल्लाहरुमा बैशाख १ गते देखिमात्र नयाँ शैक्षिकसत्र सुरु हुने भएपनि डोल्पा,हुम्ला,मुगु लगायतका हिमाली जिल्लाहरुमा माघ मसान्तमा शैक्षिक सत्र सकिने र फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।