बाजुरामा खडेरीले खाद्य संकट हुँदा ४०० पुरुष भारत पलायन

बाजुरा ,पुस ९- बाजुरा जिल्लामा खडेरीका कारण वाइ गाविसका किसान खाद्य सङ्कटको मारमा परेका छन् । अहिले सम्मकै ठूलो खडेरी परेपछि वाइ गाविसका ५, ६ र ७ वडाका किसान खाद्य सङ्कटको मारमा परेका हुन । तीन वर्षदेखि वर्षा र हिमपात नहुँदा बाली लगाउन नपाएर खाद्य सङ्कट सुरु भएपछि उनीहरु खाद्यान्नका लागि विभिन्न निकायमा धाउन थालेका छन ।खडेरीका कारण वाइ गाविसका तीन वडा र अन्य छिमेकी गाविसका अधिकांश गाउँमा खाद्यान्न उत्पादन नहुने भएपछि अहिले किसानहरु खाद्य असुरक्षामा परेको जिल्ला कृषि विकास कार्यालय बाजुराका कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

खडेरीका कारण बर्खे बाली डढेर सखाप हुनुका साथै सिँचाइको अभावमा खेत बाँझै भएका छन् । खडेरीको मारमा परेका वाइ गाविससहित जगन्नाथ, बाँधु रुगीन, गोत्री, कोल्टीलगायत ११ गाविस खाद्य सङ्कटको सूचीमा परेका छन् ।खाद्य सङ्कट र खाद्यान्न अभावपछि वाइ गाविसका करिब ४०० भन्दा बढी पुरुष रोजगारीका लागि भारत र कतिपय युवाहरु विदेशीएका छन् । खाद्य सङ्कटले गाँजेपछि विद्यालय जाने उमेर समूहका बालबालिकासमेत विद्यालय छाडेर कामका लागि भारत छिरेका छन् ।