आर्चरी प्रतियोगिताको पहिलो खेलमा आर्मीका खेलाडी अघि

उदयपुर,पुस ९-सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उदयपुरको गाईघाटमा आर्चरी सुरु भएको छ । सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा वरियताका लागि भएको पहिलो चरणको पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाल आर्मीका खेलाडी अघि रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा रिकर्भ पुरुषतर्फ र रिकर्भ महिला गरी एकसाथ दुई इभेन्ट सञ्चालन भयो ।

७० मिटरको पहिलो चरणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका समीर थापाले ६ सय २४ स्कोर गरे ।  महिलातर्फ आर्मीकै कृष्णमाया सेङताङले ५ सय ६४ स्कोर गरे ।  रिकर्भ पुरुषतर्फ १७ जना र रिकर्भ महिलातर्फ ७ जनाले भाग लिएका थिए । आज सुरु भएको प्रतियोगितामा देशका विभिन्न १३ वटा जिल्लाका आर्चरी क्लवका खेलाडीले भाग लिएका छन् ।