नेपाल संग ओमान ७ विकेटले पराजीत

ओमानविरुद्ध नेपालको सहज जितकाठमाडौं,असार,१-आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो ।

मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । 

नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले ।आसिफले ६२ रन बनाए । कुशल ५६ रनमा आउट भए ।

यस्तै देव खनाल १० रनमा आउट भए ।रोहित पौडेल २६ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे ।

ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले ।सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए । उनले ९ ओभरमा मात्र ३३ रन खर्चिए ।कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेको छ ।नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।

ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ  ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो।सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध आज बुधबार  राति खेल्नेछ ।