अमेरिकाका राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी, तुरुन्त राजीनामा दिन सुझाव

फाईल तस्विर !!

काठमाडौं,पुस,२७-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ।केही दिनअघि संसद् भवनभित्र भएको हुलदंगा उनैले गराएको आरोपमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक सांसदले महाभियोग लगाउने तयारी गरिरहेका हुन्।

डेमोक्र्याटिक पार्टीका एक नेताले ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन्।

बीबीसीका अनुसार संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग महाभियोग प्रक्रिया यो साता सुरु हुन सक्ने जानकारी दिएका छन्।

प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकाको इतिहासमा दुईपटक महाभियोग सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।त्यसका लागि महाभियोग प्रस्ताव तल्लो संसद्‌ले पारित गर्नुपर्छ। त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ। 

नवनिर्वाचित राष्ट्रपति जाो बाइडेनले यही जनवरी २० तारिखका दिन सत्ता सम्हाल्दै छन्। उनै बाइडेनको जित उल्टाउन गरेको अदालती प्रयास सफल नभएपछि गत बुधबार संसद् भवनभित्र भएको हमला ट्रम्पले नै गराएको आरोप छ। 

बाइडेनको जित प्रमाणित गर्ने विषयमा सांसदबीच बहस भइरहेकै बेला ट्रम्पका समर्थकको एक हुल पसेर हिंसात्मक आक्रमण गरेको थियो।जसमा परी एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको छ। 

बीबीसीका अनुसार तल्लो सदनका सांसद क्लाइबर्न भने ट्रम्पले सत्ता छाड्न अब ९ दिन मात्र बाँकी रहेकाले उनीविरुद्ध महाभियोग लगाउन र सुनुवाइ गर्न सम्भव नदेखिएको बताउँछन्।

यता रिपब्लिनका कतिपय सांसदले भने ट्रम्पलाई राष्ट्रपति पदबाट तुरुन्त राजीनामा दिएर महाभियोगबाट बच्न सुझाव दिएका छन्।दोस्रो रिपब्लिकन सिनेटर प्याट टुमीले आइतबार ट्रम्पलाई राजीनामा दिन आग्रह गरेका हुन्।

उनले भने, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो अलग हुनु नै हो।’