ओली पक्ष नेकपाको निर्णय : २०७८ मंसिर २ गते महाधिवेशन गर्ने

ओली समूहले निर्वाचन आयोगमा पठायो केन्द्रीय समिति पुनर्गठनको पत्र

फाईल तस्विर !!

काठमाडौं,पुस,७-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते (२०७८) मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बमोजिम आगामी मंसिर २ गतेका लागि महाधिवेशनको मिति तोकेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले काठमाडौँमा महाधिवेशन गर्नेगरी मिति तोकिएको बताउनुभयो ।यसअघि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।

त्यस्तै बैठकले पार्टी प्रवक्ता जिम्मामा परराष्ट्रमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ।

आज बसेको बैठकमा अध्यक्ष ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गराउनु भएको थियो ।

सो प्रस्ताव पारित गरी सोहि बैठकमा नयाँ सदस्यलाई सपथग्रहण समेत गराउनु भएको थियो।उक्त समुहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ ।बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिनुभयो ।

यसैबिच:ओली समूहले केन्द्रीय समिति ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ ।

‘केन्द्रीय समिति पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भन्नुभयो, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’ती आयुक्तका अनुसार पत्रमा केन्द्रीय समिति पुनर्गठनको मिति भने सोमबारको राखिएको छ ।