वाम एकताप्रति असन्तुष्टि जनाउँदै एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

कार्यकर्ताहरुको भावना माथि खेलवाड गरेको भनाई

पर्वत,असोज,२१-

देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र कार्यकर्ताहरुको भावना माथि खेलवाड गरेको भन्दै बामपन्थी दलका कार्यकर्ताहरु भने, धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यलयमा आएर प्रवेश गर्नेहरुको लहर चलेको छ । मुलुकलाई कम्युनिष्टहरुले अध्यारो तर्फ धकालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रमा आस्थावान कार्यकर्ताहरु धमाधमा काँग्रेसमा प्रवेश गर्न थालेका छन् । त्यसै विच आज कुश्मा नगरपालिका–२ खुर्कोटका हरिभन्द्र सुवेदी र सावित्री पौडेल सुवेदी लगायत आधा दर्जन वामपन्थी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सँसद सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसको सदस्यता प्रदान गर्नुभयो । सदस्यता वितरण गदै केन्द्रिय सदस्य जोशीले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले संविधान कार्यान्वयन हुन नदिन चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेको आरोप लगाउनुभयो ।

नेता जोशीले संविधानको मूल मर्म माथिनै प्रहार हुनेगरी एमालेसहितका ३ दलले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेको आरोप लगाउँदै नेपाली जनतासँग मिलेर सो चुनौति सामना गर्न आफ्नो पार्टी सक्षम रहेको वताउनुभयो ।

उहाँले लोकतन्त्रको सुदृढिकरण र संविधान कार्यान्वयन गर्ने दायित्व पूरा गर्न आफनो पार्टी लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । जोशीले सत्तारुढ माओवादी केन्द्र आफै कम्युनिष्ट गठबन्धन बनाउन लागि परेपछि आईपरेको चुनौति सामना गर्न आफनो पार्टी सफल हुने दावी समेत गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सभापति खिमप्रसाद भुषालले बामपन्र्थी गठबन्धन सँगै नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको बताउदै यो शुभ संकेत भएको बताउनु भयो । उहाँले जिल्लामा पार्टीको अवस्था राम्रो भएकाले पनि संघ र प्रदेशसभाको निर्वाचनमा विजय हुने बताउँदै वाम तालमेलबाट केही दबाब भए पनि पार्टीको अभियानलाई सहरदेखि ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने बताउनु भयो ।

कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला कार्यसमिति पर्वतका सदस्य लगायत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो । स्रोत : नेट पत्रीका