विश्वकप छनोटका लागी : आज राती पोर्चुगल र अन्डोका भिड्ने

विराटनगर, असोज,२१-

अर्को वर्ष रुसमा हुने विश्वकपका लागि जारी छनौट खेलमा युरोपियन क्षेत्रअन्तर्गगत आज राति युरो च्याम्पियन पोर्चुगल र अन्डोरा आमनेसामने हुँदैछन् ।

समूह ‘बी’ मा रहेको स्पेनिस महारथि रियल मड्रिडका स्टार फरवार्ड रोनाल्डोको टिम पोर्चुगल छनौटको अवे खेल खेल्न अन्डोराको मैदानमा उत्रिँदैछ । पोर्चुगल अहिले कूल २१ अंकका साथ अंक तालिकको दोस्रो स्थानमा छ । ऊ पहिलो स्थानको स्वीट्जरल्यान्डभन्दा मात्रै ३ अंकले पछाडि रहेको छ ।

समूहमा पोर्चुगलले हालसम्म खेलेका आठ खेलमा सात जितेको छ भने एक खेल हारेको छ । पोर्चुगल अहिले तेस्रो स्थानको हँगेरीभन्दा ११ अंकले अगाडि रहेको छ ।

यता, हाल मात्रै ४ अंक बोकेर अन्डोरा समूहको पाँचौं स्थानमा बसेको छ । आठ खेलमा उसले ६ खेल हारेको छ भने एक खेल जितेर एक खेल बराबरी गरेको छ ।

यो स्थितिमा आज अन्डोराका लागि पोर्चुगलसँगको खेल औपचारिक मात्रै हुनेछ । किनभने, ऊ सोझै विश्वकप पुग्ने बाटोबाट धेरै टाढा छ । पोर्चुगल भने आज पनि जित निकाल्दै सोझै रुसको टिकट काट्ने अभियानलाई थप बलियो बनाउन चाहन्छ ।

खेल नेपाली समयअनुसार आज राति (आइतबार बिहान) १२ः३० बजेदेखि सुरु हुनेछ ।