जिम्बावेसँग नेपाल ११६ रनले पराजित

काठमाडौं, फागुन,२०-

जिम्बावेमा सुरु भएको एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ ।

टेष्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएपनि खेलमा नेपालले प्रशंशनीय प्रदर्शन गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले आक्रामक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो ।

पहिलो ओभरदेखि नै नेपालबिरुद्ध आक्रमक अन्दाजमा प्रस्तुत भएको जिम्बावेका सिकन्दर रजाले ६६ बलमा १२३ तथा ब्रेन्डर टेलरले १०० बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र डेब्यु खेलाडी ललित राजबंशीले १/१ विकेट लिए ।

जवाफमा ३८१ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रनमात्र जोड्न सक्यो ।

नेपालकालागि शरद भेषावकर र आरिफ शेखले अर्धशतक प्रहार गरे । शरदले ६ चौका र १ छक्काको मद्दतमा ४८ बलमा ५२ रन जोड्दा आरिफले ५९ बलमा ५० रन जोडे । उनले ५ चौका प्रहार गरे ।

यस्तै, कप्तान पारस खड्काले ८ चौकाको मद्दतमा ३७ बलमा ४० रन जोडे ।

नेपालले अब आफ्नो दोस्रो खेलमा आगामी बिहीबार स्कटल्याण्डसँग खेल्ने छ । स्कटल्याण्डले आजै भएको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा समूह चरणको अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा टेष्ट मान्यता प्राप्त चार राष्ट्रसहित कूल १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल र जिम्बावेसँगै समूह ‘बी’ मा अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । यस्तै समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स, युएई र पपुवान्युगिनी छन् ।

प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को बर्ष इङ्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

विश्व क्रिकेट लिग डिभिजन टु बाट बढुवा हुँदै प्रतियोगितामा स्थान बनाएको नेपालले सुपरसिक्स चरणमा पुग्दै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउने प्रमुख लक्ष्य बनाएको छ ।