सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

महानगर र उपमहानगरपालिकाको भागबण्डा मिलाउने कसरत

काठमाडौं,बैशाख,५-स्थानीयत तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ ।

उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा पनि गठबन्धनले उम्मेदवारी तय गर्न सकेको छैन।जसका कारण तल्लो तहमा अन्याेल बढेको छ।तल्लो तहबाट आएका सिफारिस र माथिल्लो तहबाट प्रकट भएको भाबण्डाको अडानले गठबन्धन अप्ठेरोमा परेको छ।सोमबार बस्ने बैठकबाट कम्तिमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याउने संभावना रहेको छ ।

गठबन्धनका नेताहरु सम्मिलित समितिले एक साता अघि नै भागबण्डाको मोडालिटीको आधार प्रस्तुत गरेपनि दलहरुका आ–आफ्नै अडानका कारण सहमति हुन सकेको छैन। नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ । काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन माओवादीले प्रस्ताव गरेको थियो ।

भरतपुर आफुले, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादीले लिनुपर्ने माओवादीको प्रस्ताव छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्वमा माओवादीको दावी छ।त्यसैगरी एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ ।

महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलका विषयमा थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।