सरकार र निर्वाचन आयोगप्रति ओलीको चर्को आक्रोश

काठमाण्डौ,असार,१२-

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै सरकार र निर्वाचन आयोगप्रति चर्को आक्रोश पोख्नु भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले राज्य आतंक मच्याएको आरोप लगाउनुभयो ।

‘बुटवलमा म आफैं सहभागी भएको सभाको पछाडि तीनवटा बम भेटिएको छ, यसमा सरकारको धारणा के हो? उहाँले भन्नभयो ‘सकेको ठाउँमा बम राख्ने नसकेको ठाउँमा राज्य आतंक मच्याउने हो कि के हो?’ओलीले निर्वाचन आयोगको काम बाकस थाप्ने मात्र नभएको भन्दै निष्पक्ष निर्वाचन गराउन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले गाउँमा आएर भोट मागेको आरोप लगाउँदै भोट माग्नुभन्दा उम्मेदवारी नै दिएको भए राम्रो हुने तर्क गर्नुभयो ।

‘राजदूतले गाउँमा गएर भोट माग्नुभन्दा सम्बन्ध सुधारेको भए राम्रो हुन्थ्यो, कार्यकर्ता भएरै हिड्ने हो भने यतै बसे हुन्थ्यो बरू उम्मेदवार भए राम्रो हुन्थ्यो,’ ओलीले भन्नुभयो राज्यको सुविधा र पारिश्रमिक लिएर गरिमा नघट्ने व्यवहारमा रहनु ठीक हुन्छ।