राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन

एमालेले भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, फागुन,२३-

राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो ।राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ ।

यसैबीच संसद्को सबैभन्दा ठूलो दल एमालेले पुनः विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।गएराति अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो ।

हिजो साँझ साढे ५ बजेदेखि झन्डै ७ घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी नै अर्को कार्यकाल राष्ट्रपति बन्ने निश्चित जस्तै छ ।

भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो ।एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । माओवादी केन्द्रले पनि उपराष्ट्रपतिमा नन्दबहादुर पुनले नै निरन्तरता दिने बताइएको छ ।साभार : ईमेज खबरबाट