संघीय संसदको पहिलो बैठक सुरु

काठमाण्डौं,फागुन,२१-

संघीय संसदको पहिलो बैठक सुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछि राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठक संघीय संसदको ज्यष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संचालन गर्नु भएको हो ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार निर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि बस्न लागेको पहिलो बैठकलाई संसदहरुले ऐतिहासिक अवसरका रुपमा लिएका छन्। संवैधानिक अस्पष्टताका कारण निर्वाचन सकिएको लामो समयसम्म संसदको बैठक बस्न सकेको थिएन।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजेदेखि संसद भवनभित्र रहेका छुट्टा छुट्टै हलमा बसेको छ। प्रतिनिधिसभाको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नु भएको छ । बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसदको आह्वान गरिएको पत्र पढेर सुनाइने संसदीय परम्परा छ।

संघीय संसदको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्नेछ । संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न सक्ने संघीय संसद सचिवालयले जनाएको छ।

आज पहिलो अधिवेशन भएकाले शहीदहरुको सम्मानमा मौनधारण गरी प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइने कार्यक्रम छ। त्यसपछि दुवै सदनमा अन्तरिम कार्यविधि प्रस्तुत हुन्छ र त्यसलाई पारित गरिन्छ।

प्रतिनिधिसभाले सभामुख र राष्ट्रियसभाले अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची छ। फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको जनाइएको छ। फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुपर्ने छ।साभार नेपाल खबरबाट

( पहिलो कार्यसूची)