पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं आइपुगे

काठमाडौं, फागुन,२१-

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नु भएको छ । ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै अब्बासी नेपाल आउनु भएको हो ।

आज अपराह्न पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नुभयो ।

त्यहाँबाट उहाँ होटल ह्यात पुग्नुहुनेछ भने आजै अपराह्न उहाँको सम्मानमा सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ दिने कार्यक्रम रहेको छ । यसअघि, त्रिभुवन विमानस्थलकै अतिविशिष्टकक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिकमञ्चमा दिइने भएको हो ।

सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागिता रहनेछ ।प्रधानमन्त्री ओली र अब्बासीबीच आज साँझ ६ बजे याक एन्ड यति होटलमा दुईपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओलीले सोही होटलमा उहाँलाई रात्रिभोज दिनुहुनेछ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोली मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँ स्वदेश फर्कने जनाइएको छ ।

नेपाल बसाइँकाक्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालका अरु राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।