कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्‍चेश्वर र हिल्सामा बीओपी स्थापना हुँदै

काठमाण्डौं,असार,२-सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्त्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो।

फाईल : तस्विर

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छांगरू (गागा) सीमा निगरानी चौकी (बीओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन्। छांगरूबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ।

दार्चुला सदरमुकाम खलंगाबाट छांगरु करीब ८० किमी र छांगरूबाट गुञ्जी दोभान १० किमीको दूरीमा पर्छ। गुञ्जीबाट लिपुलेक १७ किमी टाढा छ। कालापनीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्छ।

सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरा समेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ। सो नक्शालाई समेटेर बनाइएको निशान छापलाई प्रतिनिधि सभाको ३१ जेठ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरूपमा पारित गरेको छ।

सो क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो। नेपाल र भारतबीचको सुगौली सन्धिबमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले छांगरूमा बीओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुशी भएको, उनीहरूले सुरक्षित महसुस गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरू गाउँ फर्कन थालेको बताए। उनले भने, “सीमालाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ हामी अग्रसर भएका छौँ। बीओपीहरूको विस्तारले सीमामा हामीलाई बढीभन्दा बढी उपस्थिति गराउन मद्दत पुग्नेछ।”

भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जीबाट कालापानी, हुँदै लिपुभञ्जाङसम्म पुर्‍याएपछि नेपालले कूटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ। चीनको मानसरोवर जोड्न भारतले नेपाल भूमि हुँदै सडक बनाएको थियो।

बजेट विनियोजनपछि छांगरूमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया शुरू गरिसकेको छ। सरकारले भवन निर्माणका लागि ११ करोड रूपैयाँ बजेट छुट्याइसकेको छ। ३१ वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत् यहाँ २५ सशस्त्र प्रहरी पुर्‍याएर बीओपी स्थापना गरिएको थियो। गत २३ मंसीरमा सरकारले सीमा क्षेत्रमा थप ११४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो।

विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ। २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बीओपीलाई २२१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १३० सञ्चालनमा ल्याइएको छ।

उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छांगरू, मुस्ताङको नेचुङ्गमा नयाँ बीओपी स्थापना भएका हुन्। हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी उद्घाटन गरिने खनालले बताए।

संघीय संसदबाट पारित आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा ७० ठाउँमा बीओपीका लागि भौतिक पूर्वाधार निर्माण गर्ने उल्लेख छ भने सोका लागि ७० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

सीमा सुरक्षासहित विभिन्न १४ कार्यादेश पाएको सशस्त्र प्रहरीले सांगठनिक पुनःसंरचना गर्दै चालू आवमा २२१ बीओपी स्थापनाको लक्ष्य लिएको छ भने क्रमशः यसलाई विस्तार गरी दीर्घकालमा ५०० सम्म बनाउने योजना अघि सारेको छ।

यसरी विस्तार गर्दा सीमा सुरक्षामा १९ हजारसम्म सुरक्षाकर्मी खटाउनुपर्ने देखिएको छ। यसका लागि करीब १० हजार जनशक्तिको दरबन्दी थप्न बलले नेपाल सरकारसँग आग्रह गरेको छ।

सीमा क्षेत्रमा थप ११४ वटा बीओपी निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त भएकामध्ये २३ वटा स्थापना भइसकेको र अन्य स्थापनाको क्रममा रहेको बलले जनाएको छ।खबरवाणीबाट