भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो

भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्युबाँके,पुष,१५-बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्। 

प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरूको मृत्यु भएको हो।

क्वाटरभित्र निसासिएर कालीकोट खाडाचक्रका धनप्रसाद सहित उहाँकि आमा कोकिला भट्टराई, दिदी नन्दकली  र उनका ३ महिनाका छोरा इप्सनको मृत्यु भएको हो। 

धनप्रसादकी श्रीमती सुशीला, भाइ नरेन्द्र र ३ वर्षीय छोरा विवश  भट्टराई बिरामी परेका छन्। उनीहरूको उपचार भेरी अस्पतालमै भइरहेको छ। 

कोठाका  सबै झ्याल ढोका बन्द गरेर न्यानो बनाउन टिनको बट्टामा आगो बालेर सुत्दा निसासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। 

अस्पताल परिसरमा रहेको क्वाटरको एक कोठामा सुतेका उनीहरू आज बिहान अबेरसम्म पनि नउठेपछि प्रहरी गएर  ढोका खोल्दा सबै बेहोस भेटिएका थिए। त्यसपछि अस्पताल लगिएका सात जनामध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।