गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

गाई वर्षलाई विदा गरेर बाघ वर्षको स्वागत गरिंदै

Tamu lhosarकाठमाडौं,पुष,१५-आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो ।

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् ।

 

ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।

यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।

यसैविच :राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनु भएको छ ।

तमु ल्होसारके अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सु-संस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

 

देशका मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्धन गर्नुपर्नेमा जोड दिंदै राष्ट्रपति भण्डारीले साँस्कृतिक सम्पदाले समृद्ध समाज निर्माणमा सघाउ पुर्याउने उल्लेख गर्नुभएको छ ।

यस्तै, ल्होसारको शुभकामना दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायले मनाउने ल्होसार पर्वको आफ्नै विशिष्ट पहिचान रहेको बताउनु भएको छ ।