झोलामा सीमित नाङ्लेभारे सिकाइ केन्द्रले पायो पक्की भवन

काठमाण्डौं,चैत्र,२५-

ग्लोवल एक्सन नेपाल(ज्ञान)को सहयोगमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्र शंखरापुर पक्की भवन पाएको छ । आइतबार ज्ञानका बोर्ड सदस्य सुवर्ण कर्माचार्यले भव्य समारोहकाबीच नवनिर्मित भवन सिकाइ केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

केहीवर्ष अघिसम्म दर्ता भएर पनि झोलामा सीमित सिकाइ केन्द्रले नयाँ भवन पाएसँगै स्थानीयहरु हौसिएको छ । आइतवार नै शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठबाट नवनिर्मित भवनको उद्घाटन गरिएको छ । ज्ञानका बोर्ड सदस्य कर्मचारीले सोही कार्यक्रममा भवनको साँचो र सञ्चालनका लागि आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामाग्री उपमेयर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

पहिले झोलामा सीमित रहेको सिकाइ केन्द्रले भवन पाएसँगै अब यो गतिशील भएको र आगामी दिनमा स्थानीयस्तरमा सीपयुक्त सिकाइ र आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिने केन्द्रका अध्यक्ष चेतनाथ दंगालले बताए । ज्ञानसँग भवन निर्माणको सम्झौता भएसँगै हौसिएको सिकाइ केन्द्रले मासिकरुपमा स्थानीयस्तरमा छलफल चौतारी, महिला गोष्ठि, अन्तर्विद्यालयस्तरीय वक्तृत्वकाला, हाजीरीजवाफ, सास्कृतिक कार्यक्रम सञ्चालन गरिसकेको छ ।

ज्ञानका कार्यक्रम संयोजक विनोद भट्टले झोलामा सीमित रहेको सिकाइ केन्द्रलाई आफूहरुले समुदायमा ल्याउन मात्रै सहयोग गरेको बताए । अब यस केन्द्रलाई यसक्षेत्रकै स्रोतकेन्द्रको रुवमा विकास गर्ने जिम्मा समुदायकै भएको उनको भनाइ थियो ।

ज्ञानले वि– वर्ड अनलसको प्राविधिक सहयोगमा २२ लाख ७५ हजार ७७२ लागतको २ कोठे पक्की भवन र दुइकोठे शौचालय निर्माण र १ लाख ७० हजार ४७२ को कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सहयोग गरेको भट्टले जानकारी दिए ।

भट्टका अनुसार वि– वर्ड अनलसको सहयोगमा ज्ञानले संकरापुर नगरपालिका वडानम्बर १ को नाङ्लेभारेसँगै वडा २ को जनकल्याण सामुदायिक सिकाइ केन्द्रको पनि भवन गरिदिएको छ । शंखरापुर नगरपालिका शिक्षा इकाई प्रमुख बोधराज निरौलाले सिकाइ केन्द्रको भवन निर्माण गरिदिएकोमा ज्ञानलाई धन्यवाद दिए ।

अब केन्द्रले सिकाइलाई निरन्तरता दिँदै प्रविधियुक्त साक्षरता, आयआर्जनमूलक व्यवसायमा काम गर्नुपर्ने निरौलाले सुझाब दिनुभयो । अब फेरी कसैले केही देला र गरौंला भनेर नबसी आफै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै निरौलाले अचार तालीम, व्यवसायिक तरकारीखेती, सीपयुक्त विभिन्न कार्यक्रम सञ्चालन गर्न सुझाब दिए ।

ज्ञानका बोर्डमेम्वर सुवर्ण कर्मचार्यले सिकाइ केन्द्र अब ज्ञान र सीप बटुल्ने थलो बन्नुपर्ने बताए । विभिन्न प्राविधिक तालीम, सीप विकास र युवापरिचालन गरी ज्ञान र प्रविधिको विकास गर्न स्रोतको खोजी केन्द्र आफैले गर्नुपर्ने बताउँदै धुप, सिलाइबुनाइ, पशुपालनलगायतका आयआर्जनका गतिविधिहरु सञ्चालन गर्न शुभकामना दिए ।

उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले सिकाइ केन्द्रले अब स्थानीय स्तरमा सिकाइ, सीप र जनचेतना सँगै आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।