कोरोना संक्रमण-जापान सहित ६ देशबाट हवाईजहाज नेपाल आउन रोक

काठमाण्डौं,चैत्र,७-कोरोना संक्रमण,रोकथाम तथा नियन्त्रण गर्न आजबाट नेपाल सरकारले इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट हवाईजहाज नेपाल आउन रोक लगाएको छ।मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। यो निर्णयसँगै उक्त देशमा रहेका नेपाली पनि नेपाल आउन पाउने छैनन्। यो रोक अप्रिल १२ (चैत ३० गते) सम्म लागू हुनेछ।

युरोपेली तथा खाडी देश, मलेसिया, इरान, दक्षिण कोरिया, टर्की र जापानबाट आउने यात्रुका साथै ती देशलाई ‘ट्रान्जिट’ बनाएर आउन पनि सरकारले रोक लगाएको छ। 

यो सरकारी समितिको निर्णयलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित एयरलाइन्सलाई पत्राचार गरिसकेको महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।

सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की, ओमन र जापानका उडान रोकिने छन्। त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट जहाज आउन पाउने छैनन्।

 

यसअघि कतारले नेपालबाट जाने यात्रुलाई प्रतिबन्ध लगाए पनि दोहा-काठमाडौं उडान भइरहेको थियो। त्यसको एउटै कारण, दोहा ट्रान्जिट भएर यात्रुहरू नेपाल आउने-जाने वा कतारबाट नेपाल आउने यात्रु थिए।

अब यसमा पनि असर परेको छ। सरकारले रोक लगाएका देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन पाउने छैनन्। सरकारले रोक नलगाएका देश, जस्तै अमेरिकाबाट आउनेहरू पनि यी देशलाई ट्रान्जिट बनाएर आउन पाउने छैनन्।

रोक नलागेका देशबाट आउनेले भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल प्रवेश पाउनेछन्। अर्थात् अमेरिकाबाट आउने मान्छे हङकङ वा बैंककबाट नेपाल आउन सक्छ।

तर प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक भने घुमिफिरी नयाँ दिल्ली वा सिंगापुर वा हङकङ वा बैंकक वा ग्वाङजाउबाट पनि आउन पाउने छैनन्। निषेधित देशबाट नेपाली वा विदेशी कोही पनि कुनै पनि ट्रान्जिटबाट नेपाल छिर्न पाउने छैनन्। 

यसैबिच:अब युरोप, खाडी, इरान, दक्षिण कोरिया, जापान, टर्की बाहेकका मुलुकमा रहेका नेपाली वा विदेशीले नेपाल आउन चाहे भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक वा ग्वाङजाउ ट्रान्जिट बनाउन सक्नेछन्।

प्रतिबन्ध नभएका देशमा रहेका नेपाली वा विदेशीले अहिले प्रतिबन्धित ट्रान्जिट हुँदै बुकिङ गरेका टिकटको मिति निःशुल्क सार्ने सुविधा सुनिश्चित गर्न उड्डयन प्राधिकरणले एयरलाइन्सलाई निर्देशन दिइसकेको छ।

सरकारको यो निर्णयअघि नै एयरलाइन्सले यस्तो स्किम दिइसकेका छन्।यद्यपी शुक्रबार राति १२ बजेसम्म काठमाडौं अवतरण गरिसक्ने उडानको टिकट भए, यात्रुहरू अहिले प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउनसक्ने छन्।साभार सेतोपाटीबाट