वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

फाईल तस्विर !!

काठमाडौं,पुस,१५-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल–माधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चुनेको हो ।

सोही समूहले यसअघि वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।

नेकपामा प्रधानमन्त्री केपी ओलीले संघीय संसद विघटन गरेपछि प्रदेश तहमा पनि एकले अर्को पक्षलाई कार्वाही गर्ने र पदबाट हटाउने अभियान तीब्र बनेको छ ।

यसैक्रममा वाग्मती प्रदेशमा ओली पक्षीय मुख्यमन्त्री पौडेललाई अविश्वासको प्रस्ताव दर्ता गरिएको छ भने पौडेल पक्षले पनि आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने दलका उपनेता र सचेतकलाई हटाएका छन् ।

१ सय १० सदस्यीय प्रदेश सभामा दाहाल–नेपाल समूहका ४६ र ओली समूहमा ३४ जना सांसद रहेको दावी गरिएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका २२ जना सांसद छन् ।

बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने भएकाले दाहाल–नेपाल समूहलाई थप १० सांसद आवश्यक पर्छ ।