रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं,पुष,१२-बहुचर्चित काठमाडौं-केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ।

चीन सरकारको चाइना रेल-वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिक आज दिउँसो काठमाडौं आइपुगेका हुन्।यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ।

विभागका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदन तयार गर्नेछ।चीनले २०७५ मंशिर २४ मा हस्तान्तरण गरेको केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने हो।

चीनले महामारीको कारण देखाउँदै नेपालसँग भएको सम्झौताअनुसार अध्ययन हुन नसकेकाले काम सुरु भएको ४२ महिना समय लाग्ने जानकारी माघ २०७८ भएको भौतिक पूर्वाधार मन्त्रालयस्तरको सचिवस्तरीय भर्चुअल वार्तामा गराएको थियो।

महामारीपछि अवस्था सहज नभएको र जटिल भूगोलमा अध्ययन गर्न पर्ने भएकाले पूर्वनिर्धारित तालिकाअनुसार अध्ययन पूरा गर्न थप लाग्ने चीनको तर्क थियो।चिनियाँ दूतावासले यसलाई बीआरआईको महत्वपूर्ण अंग रहेको भन्दै दुई देशबीच भएको सहमति कार्यन्वयका लागि चीन सँधै तयार रहेको जनाएको छ।

नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम दुई वर्षअघि चीन सरकारकै जिम्मामा छाडेको थियो।रेलमार्गको अध्ययनका लागि प्राविधिक सहयाहता उपलब्ध गराउने विषयमा चिनियाँ विदेशमन्त्री वाङ यीको गत मार्चमा सम्पन्न नेपाल भ्रमणका बेलामा सम्झौतामा हस्ताक्षर भएको थियो ।

साथै, निवर्तमान परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका क्रममा पनि चिनियाँ विदेशमन्त्री यीले चिनियाँ विज्ञ टोली पठाउने प्रतिवद्धता जनाउनुभएको थियो।केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो ।