पार्टी खोलेको ७ महिनामै रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री

क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनाई

काठमाडौं,पुष,११-नयाँ पार्टी खोलेको सात महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्नु भएको छ ।

संचारकर्मी हुँदै राजनीतिमा छलाङ मार्नु भएका लामिछानेले गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै सामाजिक संजाल प्रयोगकर्ताले लामिछानेलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउने,भ्रष्टाचार निर्मूल पार्ने, गुण्डागर्दी हटाउने,देशको शान्ति सुरक्षा मजबुद पार्ने जस्ता काम गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सीटसहित प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको छ । पुराना र बृद्ध नेताहरुलाई राजनीतिबाट बिदा गर्नु पर्छ भन्दै आउनु भएका लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्नु भएको हो ।गत असार ७ गते रविले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नु भएको थियो ।

गृहमन्त्री रवि लामिछानेले के भने !!

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उहाँले सोमबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गर्नु भएको हो ।

उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पार्नुभयो ।

विगतमा आफूहरुले जनताको पक्षमा खबरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उहाँको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणा समेत गर्नुभयो । उहाँले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहो¥याउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

यस अघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायतका कर्मचारीहरुले मन्त्रालयमा भव्य स्वागत गरेका थिए ।