सुनको मूल्य तोलामा १ हजारले बढ्यो

काठमाडौं,कात्तिक,२१-नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रवार बढेको छ ।साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार २०० र तेजाबी सुनको मूल्य रू.९६ हजार ७०० मा कारोबार भइरहेको छ ।

गत बिहीवार सुनको मूल्य बुधवारको कारोबार दिनको तुलनामा  रू.२०० ले घटेको थियो।बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९६ हजार २०० र तेजाबी सुनको मूल्य रू.९५ हजार ७०० मा कारोबार भएको थियो। 

यसैगरी शुक्रवार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू. ४५ वृद्धि भएर रू. १ हजार २५५ मा कारोबार भइरहेको छ । बिहीवार प्रतितोला रू. ५  बढेर चाँदीको कारोबार भएको थियो ।सुनव्यवसायीहरुका अनुसार दसैंतिहारको समयमा पनि व्यवसाय सन्तोषजनक भएको छैन।बजार चलायमान नभएपछि कारोबार सुनचाँदीको कारोबार ठप्प रहेको उनीहरुको भनाइ छ ।

गत वर्षको असारसम्म सुनको मूल्य प्रतितोला रू.६० हजारको हाराहारीमा थियो ।अमेरिका र चीनको व्यापार युद्धलगायत कारण त्यो बढेर गत आवमा रू.८० हजारको हाराहारीमा पुगेको थियो ।

कोरोना महामारीको प्रभावले सुनको मूल्य बढेर रू.१ लाख ३ हजार ५०० सम्म पुगेको थियो जुन अहिले झरेर प्रतितोला रू.९५ हजारको हाराहारीमा कारोबार भइरहेको छ ।