ब्राजिलियन फुटबल लेजेण्ड पेलेको निधन

‘विश्व फुटबल समुदाय स्तब्ध’

काठमाडौं,पुष,१५-ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो।

पेलेकी छोरी केली नासिमेन्तोले बिहीबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

पेलेको पूरा नाम ‘एड्सन अरान्तो दे नासिमेन्तो’ हो।उनी विश्व फुटबलले पाएका अहिलेसम्मकै सर्वाधिक सफल र चामत्कारिक खेलाडी हुन्।सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप फुटबल जिताउन महत्वपूर्ण भूमिका निभाएका पेले तिन पटक विश्वकपको उपाधि जित्ने अहिलेसम्मका एकमात्र खेलाडी हुन्।

उनले आफ्नो फुटबल करियरमा १३ सय ६३ खेल खेल्दै १२ सय ८१ गोल गरेका छन्।जुन अहिलेसम्म कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो।देशका लागि ९२ खेलमा पेलेले ७७ गोल गरेका छन्।१७ वर्षको उमेरमा सनसनीपूर्ण प्रदर्शन गर्दै ब्राजिललाई सन् १९५८ को विश्वकप फुटबल जिताएपछि पेले विश्व फुटबलको सुपरस्टार बनेका थिए।

पेलेको निधनपछि विश्वभरको फुटबल समुदाय स्तब्ध बनेको छ । ब्राजिलियन फुटबल महासंघले पेलेलाई सर्वकालिन महान खेलाडीभन्दा धेरै उच्च व्यक्तित्व भन्दै सम्मान प्रकट गरेको छ।पेलेकै आधिकारिक ट्वीटर ह्याण्डलमा फुटबलका राजा पेलेको प्रेरणा र मायाले भरिएको यात्रामा विश्राम लागेको उल्लेख गरिएको छ।

पेलेले विश्वलाई नयाँ ब्राजिल दिएको र मुलुकका लागि उनले दिएको योगदान र लिगेसीप्रति सधै आधारी हुने उल्लेख गरिएको छ ।उनको सुरुवाती क्लब सान्तोसले पेलेको अन्तिम संस्कारको कार्यक्रम सार्वजनिक गरेको छ ।

पेलेको पार्थिव शरिरलाई आगामी सोमबार अस्पतालबाट सान्तोस फुटबल क्लबको रंगशाला लगिनेछ।त्यहाँ सर्वसाधारणले उनीप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्नेछन्।साओ पाउलोको सडकमा शवयात्रापछि विशेष चिहानमा उनको अन्तिम संस्कार गरिनेछ।