भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं,पुष,१५-भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन ।

विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो ।

गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । भदौपछि भन्सार नतिरी भित्रिएका सेटहरु भने एमडीएमएस दर्ता गरेपछि मात्रै चल्ने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस अघि नै सार्वजनिक सूचना जारी गर्दै पुस १५ गतेपछि कुनै पनि मोबाइल फोन एमडीएमएसमा दर्ता नगरिने बताएको थियो ।

शुक्रबारदेखि विदेशबाट आउनेहरुले पनि आफूले प्रयोग गरेको बाहेक अन्य मोबाइल सेट ल्याए भन्सार तिर्नुपर्ने छ । कसैगरी भन्सार छलेर मोबाइल भित्र्याएमा सेटमा सिम राखेको दुई सातापछि फोन नचल्ने पनि प्राधिकरणले जनाएको छ ।

नेपालमा हाल प्रयोगमा रहेका मोबाइल सेट मध्ये करीब ४० प्रतिशत भन्सार नतिरी भित्रिएको अनुमान गरिएको छ । यो प्रणाली लागू भएपछि प्रयोग भईरहेका मोबाइलको रेकर्ड राख्न तथा चोरी नियन्त्रण गर्न पनि सजिलो हुने दाबी प्राधिकरणको छ। आयातकर्ताले नै आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै फोन चालु हुनेछन् ।