आज गणतन्त्र दिवस मनाईंदै, १२ बर्षसम्म पनि सोचे अनुसारको प्रगति भएन

काठमाडौं,जेठ,१५-आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ ।

फाईल : तस्विर

यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो ।

२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थियो ।

यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन र २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गरियो । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ ।

संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन । नयाँ चुनौति थपिएका छन् । राजनीतिक व्यवस्था र प्रणालीमा परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुको सोच र शैलीमा परिवर्तन नआउँदा समस्या चिर्दै समाधान दिनसक्ने क्षमता भने देखिएको छैन ।

करिब दुई तिहाई नजिकको बहुमत भएर पनि सत्तारुढ नेकपामा सत्ताछिनाझप्टीले झण्डै झण्डै वर्तमान सरकार ढल्ने अवस्थामा पुगेको थियो । देश भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको छ । सत्तामा भएकाहरुलाई प्रभावमा पारेर राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउने वर्गको हालिमुहाली झन् मौलाएको छ ।

जनतामा निराशा बढ्दै गएको छ । झन् यस पटक त संसारभर फैलिएको कोरोना महामारीका कारण देश र देशवासी नराम्रो संकटमा फसेका छन् । कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा कायमै हुँदा वास्तविक परिवर्तनको चाह राख्ने जनतामा निराशा छाउन थालेको हो ।ईमेजबाट