नेपाल सुपर लिग : आज दुई खेलहरु हुने

आजै प्लेअफ पुग्ने टोलीको टुंगो लाग्ने

फाईल तस्विर !!

काठमाडौं,बैशाख,२५-पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन् । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ ।

आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।विराटनगर र ललितपुरबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्दै प्लेअफ पुग्न चाहन्छ ।

विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।ललितपुरलाई हराएको खण्डमा विराटनगरले शीर्ष चार सुरक्षित गर्नेछ ।

बराबरी गरेको खण्डमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।प्लेअफ पुग्न ललितपुरलाई जितको विकल्प छैन । बराबरीले ललितपुर बाहिरिनेछ ।

ललितपुर ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।शनिबार हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष स्थानमा रहेको धनगढी प्लेअफ पुगिसकेको छ । तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफ खेल्न चाहन्छ ।

धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब रहेको छ ।बुटवल ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।