महिला साफ : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

खेल साँझ ५:३० बजे सुरु हुने

काठमाडौं,भदौ,२७-महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ।नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

 

नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।

समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ । श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो ।

 

श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ।सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता रहेको छ।पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।

यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । १ खेलमा अंक विहीन श्रीलंका समूहको पुछारमा रहेको छ ।

यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ।प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।