ओली-प्रचण्डबीच भेटवार्ता, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

काठमाडौं,फागुन,८-सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको छ ।

अध्यक्षद्वयको छलफल पछि सचिवालयको बैठक बोलाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । नेकपामा मन्त्री बाँस्कोटालाई राजीनामा गराउनुपर्ने दबाव बढेको छ ।

यसैबीच सञ्चारमन्त्री बास्कोटा घुस प्रकरणमा मुछिएको भन्दै सर्वत्र विरोध भएको छ । सामाजिक सञ्जाल लगायतमा सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई दबाव दिइएको छ ।