नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

काठमाडौं,असार,२३-नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा थापालाई बढुवा गर्ने निर्णय गरेको हो ।

नव नियुक्त महानिरीक्षक शैलेश थापा

प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत नवनियुक्त महानिरीक्षक थापा बढुवासँगै नेपाल प्रहरीको २८ औं महानिरीक्षक बन्नुभएको हो ।

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार अवकाश पाएलगत्तै थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नु हुनेछ ।

थापाका प्रतिष्पर्धीमा अर्का एआईजी हरि पाल हुनुहुन्थ्यो । हाल रहेका तीन एआइजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबार अवकाश पाउने भएकाले सरकारले थापालाई नियुक्त गरेको हो ।

थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा शुरु गर्नुभएको थियो । गत फागुनमा एआइजीमा बढुवा हुँदा पनि थापा पहिलो र पाल दोस्रो नम्बरमा हुनुहुन्थ्यो ।उहाँ २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनु हुनेछ ।