ओली-दाहालको तीन घण्टा लामो भलाकुसारी, स्थायी कमिटी बैठक नरोक्न सहमति

फाईल तस्विर !!

काठमाडौं,असार,२३-चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको करिब तीन घण्टा लामो वार्तामा स्थायी कमिटी बैठक निरन्तर गर्न सहमति जुटेको हो ।

आफ्नै आँगनमा बसेको बैठकका सहभागिले एकपछि अर्को गर्दै आफ्नो उछित्तो काढेर राजीनामा मागेपछि रुष्ट बन्नुभएका प्रधानमन्त्री ओलीले लगातार बैठक स्थगित गर्दै आउनुभएको थियो ।

ओली र दाहाल–नेपाल पक्षबीच चलेको आरोप–प्रत्यारोप रोकेर आपसी संवादमा तीन दिनयता दुई अध्यक्ष जुटेपछि नेकपाभित्रको सत्ता संघर्ष केही मत्थर भएको आभास मिलेको छ ।

सोमबारका लागि तय भएको स्थायी कमिटी बैठक बुधबारलाई सारिएको थियो । दुई अध्यक्षबीचमा बैठकमा तिक्तता बढाउने सन्दर्भ ननिकाल्ने समझदारी बनेपछि बैठक निरन्तर गर्न लागेको बताइएको छ ।

यसअघि सोमबार पनि ओली र दाहालबीच मात्रै करिब डेढघण्टा संवाद भएको थियो । त्यसअघि दुई अध्यक्षले आ–आफ्ना सहयोगिलाई पनि राखेर वार्ता गर्नुभएको थियो । यता ओली र दाहाल मात्र बसेर छलफल गरेकामा नेपाल पक्षीय नेताहरुले भने असन्तोष जनाउनु भएको छ ।

ओलीले दुबै पदबाट राजीनामा दिन नमाने स्थायी कमिटीले पद त्यागका लागि निर्णय गर्ने पक्षमा प्रचण्ड–नेपाल समूह अडिग हुँदा ओलीले दुबै पदबाट नहट्ने प्रष्ट सन्देश दिइरहनुभएको छ ।

यस्तोमा पार्टी फुटकै डिलमा पुगेपछि नेकपाका दोस्रो तहका नेताले पनि दुई अध्यक्षलाई सहमति गर्न दबाब दिइरहेका छन् ।

यही बेला चिनियाँ राजदूतले पनि प्रधानमन्त्री ओलीको विपक्षमा रहेका नेताहरुलाई घर घरमै पुगेर भेट गरी पार्टी विभाजनतर्फ जान नदिन दबाब दिनुभएको दाबी गरिएको छ ।

दुई अध्यक्ष ओली र दाहालबीच संवादलाई निरन्तरता दिने सहमति भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।ईमेजबाट