नेपाललाई आपतकालिन सहयोगको आवश्यकता : डब्लूएचओ

फाईल तस्विर !!

जेनेभा,जेठ,१-विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताउनु भएको छ ।

शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या सृजना भएको बताउनुभयो । उहाँले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।

न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ।अहिलेसम्म न्यून आय भएका मुलुकमा शून्य ३ प्रतिशत मात्रै खोप आपूर्ति भएको उहाँले बताउनुभयो ।

उहाँले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिनुभयो।कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीको मृत्यु भइसकेको बताउँदै उहाँले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको उल्लेख गर्नु भएको छ ।

संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उहाँले बताउनुभयो ।

महानिर्देशक गेहब्रेयससले केही धनी मुलुकले खोपको धेरै मात्रा किनेको र न्यून जोखिममा रहेका समूहलाई पनि खोप लगाइरहेको खुलासा गर्नुभयो। केही मुलुकले बालबालिका र किशोरकिशोरीलाई खोप लगाइरहेको उल्लेख गर्दै उहाँले यसलाई पुनर्विचार गरी त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन पनि भन्नु भएको छ । एजेन्सी