३२ लाख मध्ये २५ लाख डोज खोप लगाईयो, तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात छ-मन्त्रालय

काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ ।

सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र खोप लगाउने क्रम जारी रहेको बताउनुभएको हो । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उहाँको भनाइ छ ।

सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख, भारत सरकारसँग खरिद गरिएको अर्को १० लाख, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार, नेपाली सेनालाई प्राप्त १ लाख गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको जानकारी दिनुभयो ।

यस्तै, चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त हुँदा जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको सह–प्रवक्ता डा. अधिकारीले बताउनुभयो । ७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भए पनि भेरोसेल खोप लगाउन सुरु गरिएको उहाँको भनाइ छ ।

भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको अधिकारीले बताउनुभयो।यद्यपि भारतसँग छलफल भइरहेको र छिट्टै खोप आउने उहाँको दावी छ।रुसले उत्पादन गरेको ‘स्पुतनिक–भी’ खोप लगायतका अन्य खोपहरू ल्याउने सम्बन्धमा समन्वय भइरहेको उहाँको भनाइ छ ।

यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरूलाई आवश्यक तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात रहेको जानकारी दिनुभयो ।