उत्तर कोरियाले सैन्य परेड गर्ने

काठमाडौं,माघ,२५-

शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ ।

उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो ।

तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको छ ।

उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर कोरियालाई सैन्य परेड नगर्न बरु ओलम्पिक गेममा केन्द्रित हुन सुझाव दिएका थिए ।

‘यो सामान्य प्रचलन हो कि हरेक देशले आफ्नो सेना दिवसलाई गम्भीरतापूर्वक लिन्छन् र असाधारण तरिकाले मनाउँछन्’, उत्तर कोरियाको सत्तारुढ पार्टीको पत्रिका दी रोडोंङ सिनमुनले अन्तर्राष्ट्रिय रुपमा भइरहेका आलोचनाहरुको खण्डन गर्दै भनेको छ ।

विज्ञहरुले उत्तर कोरियाले आफ्नो ७० औं सेना स्थापना दिवसको अवसरमा लामो दूरीको मिसाइल प्रदर्शन गर्ने अनुमान गरेका छन् ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरुले भने फ्योंगयाङ एयरपोर्टको नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्शल गरिरहेको देखिएको बताएका छन् ।

कोरियन पिपुल्स आर्मी स्थापनाको अवसरमा उत्तर कोरियाले हरेक सैन्य परेडका साथ विविध कार्यक्रम गरेर मनाउने गरेको छ । ७० वर्ष अघि सन् १९४८ मा आजकै दिन यसको स्थापना भएको थियो ।अनलाईनखबरबाट