नेकपा स्थायी कमिटी बैठकः प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरें–दाहाल, बहुमतको खेल भयो–ओली

काठमाडौं,असार,१०-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष बोलेर स्थगित भएको स्थायी कमिटी बैठकमा नेताद्वयले आ–आफ्ना गुनासा र पीडा व्यक्त गरेका छन् ।

प्रथम अध्यक्ष केपी ओलीले सरकारबाट भएका राम्रा कामको पार्टीबाट समर्थन हुन नसकेको गुनासो गर्दा द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको पीडा व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको पार्टी स्थायी कमिटी बैठकमा दाहालले तत्कालीन माओवादी र एमालेबीच पार्टी एकताको घोषणा अघि २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्नुभएको बैठकमा सहभागि एक नेताले जानकारी दिनुभयो। सम्झौता कार्यान्वयन नभएकैले दुई अध्यक्षबीच आशंका बढ्ने गरेको र पार्टीले गति लिन नसकेको उहाँको भनाइ थियो ।

०७५ जेठ ३ गते एकीकरण घोषणापूर्व तत्कालीन एमाले र माओवादी नेतृत्वबीचमा ओली र दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।सहमति पालना नहुँदा प्रधानमन्त्रीलाई पार्टीले सहयोग नगरेजस्तो लागेको र मलाई उहाँ एकलौटी चलेको जस्तो लाग्ने गरेको बैठकमा दाहालले भनेको एक नेताले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीले सरकारबाट राम्रै काम हुँदा पनि पार्टीबाट आशातित समर्थन नमिलेको आशय व्यक्त गर्दै आफ्ना तर्फबाट कमीकमजोरी भएको भए सुधार्दै जान तयार रहेको बताउनुभएको थियो । एकजुट नभई सरकार र पार्टीसमक्ष रहेका चुनौति सामना गर्न नसकिने उहाँको स्वीकारोक्ति थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमतको खेल शुरु भएकोमा असन्तुष्टि पोख्दै गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउनुभएको थियो ।

पार्टीमा अनुशासनहीनता बढेको बताउनुभएका ओलीले नेतृत्वलाई खुइल्याएर कसैको पनि कद नबढ्ने चेतावनी दिँदै पार्टी फुटाउन ल्याएको अध्यादेशको समेत बचाउ गर्नुभएको थियो।कोरोना महामारी नियन्त्रणमा सरकारले निकै राम्रो काम गरेकैले मृतकको संख्या न्यून रहेको उहाँको जिकिर थियो ।

दाहालले भने आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महशूस भएको भन्दै प्रधानमन्त्री ओलीमा अहंकार बढेको आरोप पनि लगाउनुभएको एक नेताले जानकारी दिनुभयो।प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक रुपमा पेश हुनुभएका दाहालले नेतृत्वकै कारण सरकार विफल भएको निष्कर्ष पनि सुनाउनुभएको थियो ।

लामो अन्तरालमा बसेको स्थायी कमिटीमा पेश गरिएको अमेरिकी सहयोग परियोजना एमसीसीको भविष्य के हुने भन्ने यो बैठकको सबैभन्दा चासोको विषय छ । ५५ अर्ब रुपैयाँ राशिको एमसीसी परियोजना कार्यान्वयन गर्ने नगर्नेबारेमा नेकपामा निकै ठूलो अन्तरविरोध छ ।

प्रधानमन्त्री ओलीसहितका केही नेता संसदमा पुगेको एमसीसी पारित गरेर अमेरिकी अनुदान स्वीकार्दै कार्यान्वयनमा जानुपर्ने पक्षमा रहँदा अर्का अध्यक्ष दाहाल, माधव नेपाललगायत नेता भने एमसीसी नसच्चिए अनुदान स्वीकार्न नहुने मतमा छन् ।

असार १६ भित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने समय सीमारहेको एमसीसीबारे छलफल नै गर्न नदिन सभामुख अग्नि सापकोटाले असार १७ गतेसम्मका लागि बैठक स्थगित गरिदिएपछि प्रधानमन्त्री ओली रुष्ट देखिनुभएको छ ।

पार्टी नेताहरुको ईगोमा अल्झिएको अर्बौंको अनुदान रद्द हुने गरी सभामुख सापकोटाले दाहालको इशारामा षडयन्त्रपूर्वक बैठक स्थगित गराएको प्रधानमन्त्री ओली पक्षको बुझाइ छ ।नेकपाको स्थायी कमिटी बैठक भने आगामी शुक्रबार असार १२ गते फेरि बस्ने गरी स्थगित गरिएको छ ।ईमेजखबरबाट