आज विश्व योग दिवस मनाइँदै

काठमाडौं,असार,७-अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।

हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योगको अर्थ जोड्नु हो । योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

योगलाई ध्यानको आधार पनि मानिन्छ । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् ।

योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।

दिवसको अवसरमा नेपाल पनि योगाभ्यास सम्बन्धि कार्यक्रमहरु आयोजना गरिएका छन् । टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएको छ । प्रधानमन्त्री देउवासहित मन्त्रीहरु र उच्च पदस्थ ब्यक्तिहरु पनि योगाभ्यासमा सामेल भएका छन् ।

उता, सशस्त्र प्रहरी मूख्यालय हलचोकमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड सहभागी हुनुभयो । देशका अन्य भागमा पनि योगाभ्यास सम्बन्धि कार्यक्रमहरु गरिएका छन् ।ईमेजबाट