राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

काठमाडौं,जेष्ठ,२-सरकारले आज आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ ।

आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै पौने ४ बजे नै सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण बैठक कक्षमा सामाजिक दूरी कायम हुने बस्ने व्यवस्था मिलाइएको पनि प्रवक्ता पाण्डेले बताए । संयुक्त बैठकमा प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद सहभागि हुनेछन् ।

कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्ति पनि बैठकमा सहभागि हुनेछन् ।

अरु बेला बोलाइने गरिएका कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कोभिड–१९ संक्रमणको जोखिमका कारण यसपटक कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ भने ध्वजापतकाले चिटिक्क सिंगारिएको छ ।

सत्तारुढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रो पटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यसपटक कोरोना संक्रमणको चपेटमा अर्थव्यवस्था परेकाले यसैलाई केन्द्रित गरी नीति तथा कार्यक्रम ल्याइदैछ ।

आज नीति तथा पेश गर्ने सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।ईमेजबाट