भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा,लाओससँग फाईनल खेल्ने

unn.prixa.netकाठमाडौं,चैत्र,१४-नेपाल र भुटान बिचको खेल बराबरीमा सकिएको छ।प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको हो।नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो।यसअघि खेलेका सबै १२ खेल नेपालले जितेको थियो ।

नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम ८९ औं मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।

खेलको ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट  घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए ।

फाईल तस्विरमा : आजका नेपालका लागी गोलकर्ता दिपक राज सिंह ठकुरी (बिक्रम)

भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । पहिलो खेलमा नेपालसंग २-० ले हारेको लाओसले  भुटानलाई हराएको थियो ।

खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई  अग्रता दिलाए थिए। दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका थिए ।

यसअघि खेलको १९‌औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए । तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए ।

नेपालले ४५‌औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

७०औं मिनेटमा दिपकराज सिंह ठकुरीको सट पोष्ट माथिबाट बाहिरियो । त्यसको ७ मिनेटपछि मनिष डाँगीले भुटानी डिफेन्डरलाई बिट गर्दै दाहिने तर्फबाट हानेको बल दोस्रो बार हुँदै बाहिरियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेपालले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिए ।प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।