एकै दिन थपिए ६२९ संक्रमित, संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौं,असार,१०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।हालसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना फैलिएको छ ।हाल ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।

८ हजार ३ सय ६६ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म एक लाख ९३ हजार १ सय ९४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।