रुसी सेनाले युक्रेनको एक विद्यालयमा आक्रमण गर्दा ६० जनाको मृत्यु

काठमाडौं,बैशाख,२६-युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ ।

युक्रेनको पूर्वी शहर लुहान्समा रहेको एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा युद्ध जारी रहेका बेला आश्रय लिएर बसेकाहरुमाथि रुसी सेनाले आक्रमण गरेको युक्रेनको आरोप छ ।

९० जना रहेको विद्यालयमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ भने ३० जनाको उद्धार गरिएको छ । घटनामा उद्धार गरिएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन। आक्रमणका कारण विद्यालय पूर्णरुपमा नष्ट भएको छ ।

यसैबीच रुसी सेनाले युक्रेनको लहान्स्क शहरमा घेरा हाल्न खोज्दा युक्रेनी र रुसी सेनाबीच युद्ध जारी छ ।पछिल्लो समय युक्रेनको अधिकांश क्षेत्र रुसी सेनाको घेराबन्दीमा परेको छ ।