काठमाडौं,मंसिर,११-नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो ।
उहांले उद्घाटन कार्यक्रममा बोल्दै यो कार्यक्रमको आयोजना गर्नुले नै अहिलेको अवस्था देखाएको बताउनुभयो ।
उहांले भन्नुभयो, ‘अहिले परिस्थिति कठिन छ। त्यसले लामो समय यो संस्थामा रहेका र नेपालको उद्योग वाणिज्य तथा व्यापार व्यवसायमा रहेकाहरुले मिलेर काम गर्नुपर्ने हुन्छ।’
प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि ८ दशमलव ५ प्रतिशतले हुने भनिए पनि झण्डै शून्यमा पुगे पनि यसमा आशा जगाउने स्थिति आएको बताउनुभयो ।
‘कयौँ देश ऋणात्मक हुँदा पनि हामी हुनुपरेन’, उहांले भन्नुभयो, ‘विश्वको कयौँ देशले ठूलो रकम पुनरुत्थानमा खर्च गरिरहेका छन्। तर पनि नेपाल सरकारले दिएन भन्ने धेरै व्यवसायीलाई लागेको होला तर नेपाल सरकार मनको गरिब भएर हैन। आफ्नो गच्छे यस्तो भएकोले हो।’
उहांले सरकारको गच्छेअनुसार रकम दिएको बताउँदै सोहीअनुसार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारणसभा उद्घाटन कार्यक्रममा स्वागतमन्तव्य राख्दै महासंघकी अधयक्ष भवानी राणाले कोरोनाको कारणले धेरै उद्योगी व्यवसायी मारमा परेको र उद्योग व्यवसायको कसरी उत्थान गर्ने भन्ने नै महासंघको अबको अवधारणा हुने र हुनुपर्ने बताउनुभयो।
यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। त्यसमा लोकत्रान्त्रिक पद्धतिबाट निर्वाचन हुनलागेका र निर्वाचनपछि महासंघको नेतृत्वमा आउने सबैले आपसी सहयोगमा काम गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ।
उहांले भन्नुभयो, ‘जुनसुकै प्यानलबाट निर्वाचित भए पनि निर्वाचनपश्चात् भने हातेमालो गर्नुपर्ने हुन्छ।’ आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उहांले धन्यवाद पनि दिनु भएको थियो ।
महासंघको यो साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत र एसोसिएटतर्फका ३ उपाध्यक्षसहित १८ जना खुल्लातर्फका १८ जनासहित संस्थापकमध्येबाट १, प्रदेशबाट ७ तथा वस्तुगततर्फबाट १४ र एसोसिएटबाट १९ जना केन्द्रीय सदस्य छान्दै छ।