नेकपा सचिवालय बैठक सकियो,अर्को बैठक १६ गते बस्ने

फाईल तस्विर !!

काठमाडौं,मंसिर,१३-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ।निकै चासोपूर्वक हेरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको हो ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।

सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

‘अध्यक्ष ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन,’ पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘प्रस्तुत प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको छ।’

बैठकमा दुई अध्यक्ष र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टीको अहिलेको संकटबारे धारणा राख्नु भएको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुले अहिले देखिएका समस्याका कारण पार्टी फुटतर्फ उन्मुख हुनुको कुनै कारण नभएको बताएका थिए ।

‘अब १६ गते सचिवालय बैठक बस्छ, आवश्यक परे १७ गते पनि बस्छ र १८ गते स्थायी समितिको बैठक नै बस्ने तय छ, त्यहाँ पनि छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।