नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण,मृत्यु हुनेको संख्या ८३ पुग्यो

पछिल्लो २४ घण्टामा १७१ जना निको भए

काठमाडौं,साउन,२७-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

धनुषाका ६० वर्षीय पुरुष, धनुषाकै ५० वर्षीय पुरुष, काभ्रे पाँचखालकी ५० वर्षीया महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ८३ भएको हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

थपिएकामा काठमाडौं उपत्यकाका अहिलेसम्मकै बढी एक सय ३४ जना रहेका छन् ।तीमध्ये काठमाडौंका ११०, ललितपुरका १६ तथा भक्तपुरका ८ जना हुन् ।

अहिलेसम्म एक सय ८३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।हाल ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा एक सय ७१ जना संक्रमणमुक्त भएका छन् ।अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।अहिले ११ हजार ५८ जना क्वारेन्टिनमा र ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन् ।