रुसी सेनामा दुई सय नेपाली रहेको जानकारी आएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं,मंसिर,२५-प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।उहाँले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजि कार्य भइरहेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताउनुभयो। उहाँले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढीरहेको पनि बताउनुभयो।

प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताउनुभयो।उहाँले गठबन्धनका बैठकहरु हेर्दा पै्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताउनुभयो।