लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेससहित ६ दलबीच सैद्धान्तिक सहमति

तालमेलमा सहमति जुटाउन ७ सदस्यीय कार्यदल गठन

काठमाण्डौं,असोज,१९-

कांग्रेससहित ६ राजनीतिक दल सम्मिलित ‘बृहत् लोकतान्त्रिक गठबन्धन’निर्माण गर्न बुधबार सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने सहमति भएको हो ।

गठबन्धनमा रहने दलहरुबीच चुनावी तालमेल कहाँ, कसरी गर्ने भन्ने विषयमा गृहकार्य गरी औपचारिक सहमति जुटाउन ६ दलबीच ७ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा कांग्रेसका २ र अन्य ५ दलबाट १/१ सदस्य रहने भएका छन् । कार्यदलमा रहने सदस्यहरुको नाम सबै दलले आज दिने भएका छन ।  

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कम्युनिष्टहरुको गठबन्धन निर्माणपछि बृहत् लोकतान्त्रिक गठबन्धन बनाउन आफूहरू बाध्य भएको बताउँदै चुनावी तालमेलका लागि सहमति जुटाउन कार्यदल गठन भएको बताउनुभयो । 

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलले कांग्रेसलाई ‘लोकतान्त्रिक गठबन्धन’ निम्ति बाध्य बनाएको हो । माओवादीले ‘धोका’दिएको भन्दै प्रधानमन्त्री देउवा बिहानैदेखि लोकतान्त्रिक गठबन्धन निर्माणको दौडधुपमा जुटेका थिए । कांग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ निम्ति निर्णय लिइसकेको छ ।

बैठकमा सहभागि कांग्रेस नेता बिमलेन्द्र निधिले ६ दलबीच लोकतान्त्रिक गठबन्धन निर्माणको सैद्धान्तिक सहमति जुटिसकेकाले चुनावी तामलेल कसरी गर्ने भन्नेबारे गृहकार्य अघि बढेको बताउनुभयो । उहाँले अन्य राजनीतिक दलसँग पनि छलफल हुने बताउनुभयो । 

बैठकमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा, शरदसिंह भण्डारीको छलफलका लागि बालुवाटार पुगेका थिए । 

संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राप्रपाबाट कमल थापा, दिलनाथ गिरी, राप्रपा (प्रजातान्त्रिक) बाट अध्यक्ष पशुपति शमसेर जवरा, विक्रम पाण्डे, नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय गच्छदार, गोपाल दहितसहितका नेताहरु बैठकमा सहभागि थिए । कांग्रेसबाट प्रधानमन्त्री देउवाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, निधिसहितका नेता थिए ।

अपरान्ह ४ बजे बोलाइएको बैठक एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको गठबन्धनले ल्याएको चुनौती र त्यसले पार्ने असरका बारेमा समिक्षा गर्दै लोकतान्त्रिक गठबन्धन निर्माणका बिषयमा छलफल भएको थियो । बैठक राति साढे ८ बजेसम्म चलेको थियो । कान्तीपुरमा खबर छ ।