५ जिल्लामा चुनाव धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग

काठमाडौं, असार,१४-

आज सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। आज साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको भत्सर्ना गर्दै पुनः मतदान गराउन माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ। अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ।’

त्यसैगरी अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा पनि धाँधली भएको एमालेले दाबी गरेको छ।

एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु, मतदाताहरु र निर्वाचनका सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि धन्यवाद दिएको छ।

लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त हो भन्दै विज्ञप्तिमा भनिएको छ । अझ स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका दैनिन्दिनका समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

प्रेश विज्ञप्ती 

प्रेश विज्ञप्ती