भारतमा कोरोना संक्रमितको मृत्यु दर बढ्दो:पार्कहरु शवदाह गृह निर्माण हुँदै

फाईल तस्विर !!

भारत,बैशाख,१४-भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ।शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह निर्माण गर्न थालिएको छ ।

कोरोना संक्रमणको घातक दोस्रो छालले सबैभन्दा बढी मार खेपिरहेको दिल्लीमा पार्किंङ स्थल, पार्क वा खाली मैदान, दाहसंस्कारको बढ्दो आवश्यकताका लागि खोजी भईरहेको अधिकारीहरुले जनाएका छन् ।

दाहसंस्कारका लागि समेत परिवारजनले घण्टौं कुर्नु पर्ने अबस्था छ ।पछिल्लो २४ घण्टामा दिल्लीमा ३ सय ८० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

करिव २ करोड जनसंख्याको रहेको दिल्लीका अस्पतालहरू संक्रमितले भरिएका छन् भने चिकित्सक र अक्सिजनको अभावले मृतकको संख्या बढ्दो छ ।यता दिल्ली सरकारले बैंककबाट १८ वटा अक्सिजनको ट्याङ्कर मगाउने निर्णय गरेको छ ।

मगाइएको ट्याङ्कर भोलिदेखि आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभयो ।उहाँले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ ।

फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै केजरीवालले त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताउनुभयो ।

यसैबीच भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।पछिल्लो चौबीस घण्टामा ३ लाख २३ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।जुन अघिल्लो दिनको तुलनामा ३० हजारले कम हो । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतर २ हजार ७ सय ७१ जनाको कोरोनाका कारण मृत्यु छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा पनि संक्रमण बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २६ हजार ७ सय १९ जनामा संक्रमण र २ सय ४९ जनाको मृत्यु भएको छ ।पश्चिम बंगालमा ९ हजार ७ सय बढीमा संक्रमण र ६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै बिहारमा ९ हजार २ सय २८ जनामा संक्रमण र ६७ जनाको मृत्यु भएको छ ।भारतमा आगामी मे १ देखि १८ वर्ष माथिका सबै उमेर समूहका लागि खोप लगाउने तयारी गरिएको छ ।यसबाट संक्रमणको दरमा कमी आउने अपेक्षा गरिएको छ ।एजेन्सी