बाँकेमा संक्रमण भयावह,पोजिटिभिटी दर ७५ प्रतिशत

काठमाडौं,बैशाख,१३-बाँके जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको छ। संक्रमितको ठूलो हिस्सा सिकिस्त हुँदा अस्पतालका बेड भरिभराउ भएका छन्।जिल्लामा हाल २ हजार ४०८ सक्रिय संक्रमित छन्। शनिबारमात्रै ४५४ जनाको परीक्षण हुँदा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो।

भेरी अस्पताल नेपालगञ्जमा रहेका २०३ संक्रमितमध्ये ६८ जना सिकिस्त रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ।

यस्तै कोहलपुर मेडिकल कलेजमा रहेका ५७ जना संक्रमितमध्ये २६ जना सिकिस्त छन्।कोहलपुर नगरपालिका कोभिड अस्पतालमा १२, ह्वाइट हाउस होटल मनिकापुरमा ३९ र होम आइसोलेसनमा २ हजार २७८ जना छन्।

शनिबार बाँकेमा ८ जना संक्रमितको निधन भएको थियो।यससहित जिल्लामा कोरोनाबाट १९० जनाको ज्यान गइसकेको छ।जसमध्ये ८६ जना बाँकेकै हुन् भने जिल्लाबाहिरका १०४ जनाले ज्यान गुमाएका छन्।

दोस्रो लहरअघि भेरी अस्पतालले कोभिडका बिरामीका लागि २ सय बेड छुट्टाएको थियो। जसमा १३० सामान्य, ६० आईसीयू र १० भेन्टिलेटर बेड थिए। संक्रमण बढेपछि अस्पतालमा सबै बेड भरिसकेका छन्।

‘संक्रमित ह्वात्तै बढेकाले अस्पतालमा भएका सबै बेड भरिसकेका छन्। बिरामीको बिजोग छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रकाश थापाले भने, ‘कोभिड वार्ड भरिएपछि अन्य वार्डमा पनि कोरोना संक्रमितलाई भर्ना गर्नुपरेको छ। स्वास्थ्य जनशक्तिले पनि नधान्ने अवस्था पुगेको छ।’

जनशक्ति-अक्सिजन अभाव
अघिल्लो लकडाउनमा बाँकेको मुख्य आइसोलेसन केन्द्र थियो-सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। तर, अहिले ९० प्रतिशत डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आइतबारदेखि नै बन्द भएको छ। अस्पतालले सूचना निकालेर आइतबारदेखि वैशाख १८ गतेसम्म इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको छ।

स्वास्थ्य जनशक्ति अभाव भएपछि भेरी अस्पतालले करारमा १० जना मेडिकल अधिकृतसहित ८० जना स्वास्थ्य कर्मचारीहरु राख्ने निर्णय गरि सुचना जारी गरिसकेको छ।

जटिल प्रकृतिका बिरामीहरु बढ्दै जाँदा अस्पतालमा अक्सिजनको समेत अभाव देखिन थालेको छ। पहिले दैनिक औसत १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर चाहिने भएपनि अहिले २ सयभन्दा बढी सिलिन्डर अक्सिजन खपत भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताउनुभयो।

‘हामीसँग अक्सिजन प्लान्ट नभएकोले अरुको भर पर्नु परेको छ। समयमै अक्सिजन नपाएर सिकिस्त बिरामीहरुको मृत्यु हुने खतरा बढ्दो छ,’ थापाले भन्नुभयो, ‘अस्पतालसँग २०-३० सिलिन्डर स्टक राख्ने क्षमता छ। त्यो खाली भएर फेरि भर्न झन्झटिलो र समय लाग्ने हुनाले अक्सिजन आपूर्तिमा असहज भएको छ। सप्लायर्सले पनि चाहिनेजति अक्सिजन दिन नसक्ने अवस्था सिर्जना हुन थालेको छ।’

बाँकेमा प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले पनि संक्रमणले जिल्लालाई आक्रान्त पारेको बताउनुभयो ।‘कोभिडले बाँके जिल्लालाई आक्रान्त बनाउँदै लगेको छ। संक्रमित संख्या बढ्दै गएको छ,’ गेलालले भन्नुभयो, ‘स्वास्थ्य संस्थाले उपचार गर्दागर्दै पनि मृत्युवरण गर्नुपर्ने अवस्था देखिएको छ।’

पोजिटिभिटी दर ७५ प्रतिशत
भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजिटिभिटी दर ७५ प्रतिशत देखिएको छ। वैशाख १ देखि वैशाख ११ सम्म उपलब्ध तथ्यांकका आधारमा ब्रिस्टोल युनिभर्सिटीका अनुसन्धानकर्ता ऋषिराम पराजुलीले विश्लेषण गरेका थिए।

वैशाख ४, वैशाख ६, वैशाख ७ र वैशाख १० गते परीक्षण गराएकामध्ये ९० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ। यस्तै वैशाख १ गते ६१, वैशाख २ गते ६९, वैशाख ३ गते ५६, वैशाख ५ गते ५८ र वैशाख ११ गते परीक्षण गरिएकामध्ये ७१ प्रतिशतलाई संक्रमण देखिएको छ।